बेनी । म्याग्दीमा रहेर लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार प्रताप बानियाँ पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । बेनी नगरपालिका–५ पुलाचौरस्थित जनकल्याण माध्यमिक विद्यालयमा स्थापना गरिएको ‘धनेश्वरी–तारानाथ स्मृति कोष’ले सोमबार आयोजना गरेको कार्यक्रममा बानियाँलाई पत्रकारिता पुरस्कार–२०८३ प्रदान गरेको हो ।
बानियाँलाई नगद १० हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको कोषका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । पत्रकारितामार्फत म्याग्दी जिल्लाको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको मूल्याङ्कन गर्दै उहाँलाई पुरस्कृत गरिएको कोषले जनाएको छ ।
बेनी नगरपालिका–५ चिप्लेटीमा स्थायी घर भएका बानियाँ विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँ नेपाल टेलिभिजनका म्याग्दी संवाददाता तथा राष्ट्रिय दैनिक नेपाल समाचारपत्रका जिल्ला संवाददाताका रूपमा कार्यरत हुनुहुन्छ ।
पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आउनुभएका बानियाँ प्रेस चौतारी नेपाल म्याग्दी शाखाको अध्यक्षसमेत हुनुहुन्छ । साथै, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको वर्तमान कार्यसमितिमा सहसचिवको जिम्मेवारी सम्हालिरहनुभएको छ । स्थानीयदेखि राष्ट्रिय सञ्चारमाध्यमसम्म आबद्ध रहेर काम गर्नुभएका बानियाँले पछिल्लो समय आफ्नै सञ्चार संस्था जगन्नाथ मिडिया प्रालिमार्फत रुप्से न्यूज डटकम सञ्चालन गर्दै आउनुभएको छ ।
सम्मान प्राप्त गरेपछि बानियाँले आफ्नो पत्रकारिता यात्राको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने धनेश्वरी–तारानाथ स्मृति कोषप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले प्राप्त सम्मानले आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर पत्रकारिता गर्न प्रेरणा मिलेको बताउनुभएको छ ।
पत्रकारिता क्षेत्रको योगदानको सम्मान गर्दै प्रतिभा र कर्मलाई प्रोत्साहन गर्ने उद्देश्यले स्मृति कोषले हरेक वर्ष विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ ।