बागलुङ । गलकोट नगरपालिका–१० पाण्डबखानीमा रहेको घोप्टेखोला लघु जलविद्युत् आयोजनामा प्राविधिक समस्या आएपछि स्थानीयवासी विद्युत् र सञ्चार दुवै सेवाबाट वञ्चित भएका छन् । विद्युत् उत्पादन बन्द भएसँगै नेपाल टेलिकमको मोबाइल टावरसमेत सञ्चालन हुन नसक्दा करिब ५०० घरधुरी प्रत्यक्ष प्रभावित भएका हुन् ।
गत कार्तिक १५ गते राति करिब ११ बजे आयोजनाको ट्रान्सफर्मर जलेर जेनेरेटरमा क्षति पुगेपछि २५ किलोवाट क्षमताको जलविद्युत् आयोजना बन्द भएको हो । विद्युत् आपूर्ति ठप्प भएसँगै पाण्डबखानीका बस्तीहरू अन्धकारमा छन् भने मोबाइल नेटवर्क नहुँदा स्थानीयको बाहिरी क्षेत्रसँगको सम्पर्कसमेत टुटेको छ ।
आयोजनामा पुगेको क्षति ठूलो भएकाले मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउन अझै चारदेखि पाँच दिन लाग्ने आयोजना पक्षले जनाएको छ । विद्युत् अभावले दैनिक जनजीवन प्रभावित भइरहेका बेला सञ्चार सेवा पनि बन्द हुँदा स्थानीयवासी थप समस्यामा परेका छन् ।
अझ विडम्बनाको कुरा पाण्डबखानी क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तार भइसकेको भए पनि नेपाल टेलिकमको टावरमा भने अहिलेसम्म केन्द्रीय विद्युत् लाइन जोडिएको छैन । स्थानीय जलविद्युत् आयोजनाबाट मात्रै विद्युत् लिएर सञ्चालन हुँदै आएको टावरमा वैकल्पिक विद्युत् व्यवस्थापन नहुँदा सामान्य प्राविधिक समस्याले समेत पूरै क्षेत्र सञ्चारविहीन बन्ने अवस्था सिर्जना भएको हो ।
यस विषयमा स्थानीयवासीले पटक–पटक गलकोट नगरपालिका र नेपाल टेलिकम कार्यालय बागलुङको ध्यानाकर्षण गराउँदै आए पनि समस्या समाधानका लागि ठोस पहल नभएको गुनासो गरेका छन् । अत्यावश्यक विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा पनि सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
स्थानीयका अनुसार विद्युत् नहुँदा रातको समयमा अन्धकारमा बस्नुपर्ने अवस्था छ भने मोबाइल नेटवर्कसमेत बन्द हुँदा आपत्कालीन अवस्थामा खबर आदानप्रदान गर्न र बाहिरी क्षेत्रसँग सम्पर्क गर्नसमेत कठिनाइ भएको छ ।
स्थानीय युवा तथा अगुवाहरूले गाउँमा केन्द्रीय प्रसारण लाइन पुगिसकेको अवस्थामा टेलिकमको टावरलाई अझै पनि स्थानीय जलविद्युत्मा निर्भर बनाइराख्नु उचित नभएको बताएका छन् । उनीहरूले टावरमा तत्काल केन्द्रीय विद्युत् लाइन जोड्ने वा वैकल्पिक विद्युत् आपूर्तिको भरपर्दो व्यवस्था गर्न नेपाल टेलिकमसँग माग गरेका छन् ।
स्थानीयवासीले घोप्टेखोला जलविद्युत् आयोजनाको मर्मत कार्य शीघ्र सम्पन्न गरी विद्युत् सेवा पुनः सञ्चालन गर्न तथा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित निकायले दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् । विद्युत् र सञ्चारजस्ता आधारभूत सेवामा देखिएको समस्याप्रति स्थानीय सरकार र नेपाल टेलिकम गम्भीर बन्नुपर्ने उनीहरूको माग छ ।