म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले सप्ताहव्यापी शैक्षिक एवं धार्मिक महोत्सव तथा श्रीमद्भागवत् धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ । बिहीबारदेखि सुरु भएको महायज्ञको गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जाली (सुविन) र प्रसिद्ध कथावाचक पण्डित दिनबन्धु पोखरेलले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
महायज्ञको उद्घाटन गर्दै प्रदेशसभा सदस्य जुग्जालीले सामुदायिक विद्यालयको विकास र गुणस्तरीय शिक्षाका लागि समुदाय आफैँ अग्रसर हुनु सकारात्मक र उदाहरणीय काम भएको बताउनुभयो । विद्यालय सञ्चालन तथा शैक्षिक सुधारमा राज्यको महत्वपूर्ण जिम्मेवारी भए पनि स्थानीय समुदायले महायज्ञमार्फत स्रोत जुटाउन गरेको प्रयास प्रशंसनीय रहेको उहाँको भनाइ थियो ।
पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जानु र विद्यालय सञ्चालनमा चुनौती थपिनु चिन्ताको विषय भएको उल्लेख गर्दै उहाँले दीपशिखा माविको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेले विद्यालयको शैक्षिक उन्नयनका लागि आयोजना गरिएको महायज्ञलाई सबै पक्षको सहयोग र सहभागितामा सफल बनाउनुपर्ने बताउनुभयो ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार, आवासीय कक्षा सञ्चालन, स्मार्ट तथा प्रविधिमैत्री व्यावसायिक शिक्षा प्रदान र खेलमैदान व्यवस्थापनका लागि जग्गा खरिद गर्ने मुख्य लक्ष्यसहित महायज्ञ आयोजना गरिएको हो । भौगोलिक विकटता र आर्थिक अभावका कारण शिक्षामा सहज पहुँच नपुगेका विद्यार्थीलाई लक्षित गरी आवासीय सुविधा र अतिरिक्त कक्षा सञ्चालन गर्ने योजना पनि विद्यालयले अघि सारेको छ ।
विद्यालयका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीका अनुसार महायज्ञबाट तीन करोड रुपैयाँ आर्थिक सहयोग सङ्कलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञ औपचारिक रूपमा सुरु हुनुअघि नै ४० लाख रुपैयाँभन्दा बढी सहयोगको घोषणा भइसकेको उहाँले जानकारी दिनुभयो । स्वदेश तथा विदेशमा रहेका पूर्वविद्यार्थी र स्थानीयवासीबाट सहयोगको प्रतिबद्धता आउने क्रम जारी रहेको छ ।
सङ्कलित रकम विद्यालयमा प्रविधियुक्त शिक्षण सिकाइको व्यवस्था गर्न, शैक्षिक गुणस्तर बढाउन र सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण वृद्धि गर्न खर्च गरिने विद्यालयले जनाएको छ । गाउँमै गुणस्तरीय शिक्षा उपलब्ध गराएर विद्यार्थीलाई सहरका विद्यालयमा जाने प्रवृत्ति कम गर्ने लक्ष्यसमेत राखिएको छ ।
महायज्ञको उद्घाटनअघि कुहुँदेखि पूर्णगाउँ हुँदै धार्मिक तथा पर्यटकीय क्षेत्र टोड्केसम्म नौमती बाजा र भजनकीर्तनसहित कलशयात्रा निकालिएको थियो । महायज्ञमा पण्डित दिनबन्धु पोखरेल प्रमुख कथावाचक र चन्द्रप्रसाद बसेल (ध्रुवशरण) सङ्कल्पकर्ताका रूपमा रहनुभएको छ ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्री, प्रहरी नायव उपरीक्षक राजन कार्कीलगायत जनप्रतिनिधि, सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, सामाजिक अगुवा र स्थानीयवासीको सहभागिता रहेको थियो ।
शुक्रबारदेखि नियमित प्रवचन, भजनकीर्तन, पाठपारायण, पूजाअर्चना, आरती तथा विभिन्न धार्मिक झाँकीका कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।