बेनी ।नेपाल उद्योग वाणिज्य महासंघ र म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी पहिरोपीडितलाई छ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका छन् । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट प्रभावित तथा घरबारविहिन बनेका परिवारलाई लक्षित गरी मङ्गलवार गाउँपालिकामार्फत राहत सामग्री उपलब्ध गराइएको हो ।
-1791983792.jpeg)
अन्नपूर्णका बाढीपहिरोपीडितका लागि २५ किलोका ४० बोरा चामल, ४० पोका राहत प्याकेट, ४० कार्टुन चाउचाउ, दुई कार्टुन सनफ्लावर तेल, ३० सेट सोलार प्यानल र ३६ थान १२×१५ साइजका त्रिपाल सहयोग गरिएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसीले जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त पहलमा उक्त राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रका पीडितहरुलाई गाउँपालिकामार्फत पठाइएको उहाँले बताउनुभयो ।
राहत सामग्री हस्तान्तरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले निजी क्षेत्रको पहलमा विपद्बाट प्रभावित नागरिकलाई तत्कालका लागि दैनिक उपभोग्य सामग्रीसहित आवश्यक राहत उपलब्ध गराइएको बताउनुभयो । असोज दोस्रो साताको भीषण वर्षाले म्याग्दीका विभिन्न स्थानमा क्षति पु¥याएको भए पनि अन्नपूर्ण गाउँपालिका बढी प्रभावित भएकाले संघको पहलमा राहत प्याकेज उपलब्ध गराइएको उहाँले बताउनुभयो । विपद्को कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्ने कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने उहाँको भनाइ छ ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्योग वाणिज्य महासंघ र म्याग्दी उद्योग वाणिज्य संघबाट प्राप्त सामग्री वास्तविक पीडितसम्म पु¥याइने बताउनुभयो । राहत हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमकुमार श्रेष्ठ, वर्तमान वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लिलाराम गौतम र संघको अन्नपूर्ण बजार इकाई अध्यक्ष सुनिता गिरी लगायतको उपस्थिति रहेको थियो ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट अन्नपूर्ण गाउँपालिकामा ठूलो जनधनको क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गाउँपालिकामा ५४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १२९ घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोमा परी गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । विपद्का कारण १ हजार २७८ वटा हाँस तथा कुखुरा, छ वटा भैँसी, आठवटा गाईगोरु र तीनवटा बाख्रा मरेका छन् ।
बाढीपहिरोबाट प्रभावित १११ जनालाई स्थानीय तहमार्फत राहत वितरण गरिसकिएको जनाइएको छ । अविरल वर्षापछि आएको पहिरोले अन्नपूर्ण गाउँपालिका–५ को पाउद्वार र वडानम्बर ८ को महभीर वस्तीमा ठूलो क्षति पु¥याएको छ । प्राकृतिक विपद्बाट घर, पशुचौपाया तथा अन्य सम्पत्ति गुमाएका प्रभावित परिवारलाई पुनः स्थापना र थप राहतको आवश्यकता देखिन्छ ।