म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३, मौवाफाँटस्थित देवी भगवती मन्दिर निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने सुवेदी परिवारलाई सम्मान गरिएको छ । मन्दिर निर्माण तथा सञ्चालनका लागि जग्गा दान गरेर धार्मिक कार्यमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै मन्दिर व्यवस्थापन समितिले स्वर्गीय विष्णुदत्त शर्मा र स्वर्गीय तुलसी शर्माका सन्तान तथा परिवारका सदस्यहरूलाई सम्मान गरेको हो ।

जग्गादाता परिवारका दीनानाथ शर्मा, जमुना शर्मा, नवराज सुवेदी, सुमित्रा शर्मा, सुवास सुवेदी, करिश्मा शर्मा र सुशान्त सुवेदीलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको मन्दिरका सचिव मुकुन्दप्रसाद शर्माले जानकारी दिनुभयो । परिवारले उपलब्ध गराएको जग्गामा हाल देवी भगवती मन्दिर सञ्चालनमा रहेको छ । धार्मिक आस्थाको संरक्षण र सामुदायिक हितका लागि परिवारले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
कार्यक्रममा मन्दिरका अध्यक्ष सूर्यदत्त शर्मा, निवर्तमान अध्यक्ष बुद्धिबहादुर खत्रीलगायत गाउँका अग्रज तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।सम्मानित परिवारका तर्फबाट सुमित्रा शर्माले जग्गादानको योगदानलाई स्मरण गर्दै सम्मान प्रदान गरेकोमा मन्दिर व्यवस्थापन समिति तथा मन्दिर परिवारप्रति आभार व्यक्त गर्नुभयो ।
जग्गादाता परिवारको योगदानले धार्मिक तथा सामाजिक क्षेत्रमा सहयोग, सद्भाव र परोपकारको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ । मन्दिर व्यवस्थापन समितिले परिवारका सदस्यहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै देवी भगवती माताको कृपा सधैँ कायम रहोस् भन्ने शुभेच्छा व्यक्त गरेको छ ।