म्याग्दी । अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका २० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाण्डौंको सहयोग तथा सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म गलेश्वर, म्याग्दीको समन्वयमा विस्थापित परिवारलाई बुधबार राहत सामग्री हस्तान्तरण गरिएको हो ।

बाढीपहिरोका कारण घरबारविहीन भई स्थानीय अस्थायी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका २० घरपरिवारलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको सशस्त्र प्रहरीले जनाएको छ । अविरल वर्षासँगै आएको बाढीपहिरोले अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर २, ३, ४, ५, ६, ७ र ८ मा व्यापक क्षति पुर्याएको छ । पहिरोका कारण गाउँबस्ती तथा सडक पूर्वाधारमा पूर्ण र आंशिक क्षति पुगेको छ । सडक अवरुद्ध हुँदा आवतजावत ठप्प हुनुका साथै प्रभावित क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको छ ।

आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले खाद्यान्नलगायत राहत सामग्री काठमाडौँबाट म्याग्दी पठाएको थियो । उक्त राहत सामग्री गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म गलेश्वरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लुकेन्द्र सुब्बा तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेको रोहबरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

राहत हस्तान्तरणका क्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुनले विपद्को कठिन घडीमा उद्धार तथा राहत सामग्री उपलब्ध गराई विस्थापित परिवारलाई सहयोग गरेकोमा सशस्त्र प्रहरी बल नेपालप्रति आभार व्यक्त गर्नुभयो ।
त्यसैगरी, गलेश्वर गुल्मका गुल्मपति सुब्बाले विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यमा सशस्त्र प्रहरी बल सधैँ अग्रपंक्तिमा रहेर खटिने बताउनुभयो । प्रधान कार्यालयको निर्देशन र सहयोगमा विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराइएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।