पोखरा । पोखरामा भएको सवारी दुर्घटनामा परी म्याग्दीका दुई युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५, जिरो किलोमिटर नजिक शुक्रबार दिउँसो स्कुटर रोकिराखेको बोलेरो जिपमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो ।
कास्की प्रहरीले दिएको जानकारीअनुसार दिउँसो करिब २ः५० बजे लु ३ च ५२७४ नम्बरको बोलेरो जिपमा ग २३ प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किएको थियो । दुर्घटनामा स्कुटरमा सवार म्याग्दीको मङ्गला गाउँपालिका–९, दारुङका २१ वर्षीय विवेक दर्जी र रघुगङ्गा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियार गम्भीर घाइते भएका थिए ।
दुर्घटनालगत्तै दुवैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिनुभयो ।
घटनापछि प्रहरीले बोलेरो जिपका चालक पोखरा महानगरपालिका–२८, कालिका निवासी ४८ वर्षीय अमृत बजगाईंलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।