१७२ मेगावाटका आयोजना अझै बन्द
म्याग्दी । बाढीपहिरोका कारण अवरुद्ध बनेको म्याग्दी र मुस्ताङको विद्युत् आपूर्ति वैकल्पिक प्रसारण लाइनमार्फत पुनः सञ्चालनमा आएको छ । दाना सबस्टेसनबाट तत्काल विद्युत् आपूर्ति गर्न नसकिएपछि नेपाल विद्युत् प्राधिकरणले ३३ केभी लाइन मर्मत गरी प्रभावित क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा ल्याएको हो ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा विद्युत् संरचनामा ठूलो क्षति पुर्याएको थियो । बाढीका कारण पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटे क्षेत्रमा दाना–खुर्कोट २२० केभी प्रसारण लाइनका चारवटा टावर ढल्नुका साथै प्रसारण तारसमेत चुँडिएका थिए ।
प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत् आपूर्ति प्रभावित बनेको थियो । त्यसपछि प्राधिकरणको तातोपानी वितरण केन्द्रले वैकल्पिक व्यवस्थामार्फत सेवा सञ्चालनका लागि मर्मत कार्य अघि बढाएको थियो ।
तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईंका अनुसार मिलनचोकदेखि दाना हुँदै मुस्ताङको कोवाङसम्मको ३३ केभी लाइन मर्मत गरेपछि विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको हो । मुस्ताङमा असोज २४ गतेदेखि विद्युत् सेवा नियमित गरिएको छ भने म्याग्दीका प्रभावित क्षेत्रमा पनि मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । एक–दुई घरबाहेक अन्य क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको चापागाईंले जानकारी दिएका छन् ।
विद्युत् आपूर्ति सुरु भएसँगै बाढीका कारण अवरुद्ध बनेको सञ्चार सेवा पनि पुनः सञ्चालनमा आएको छ । विद्युत् सेवामा आएको सुधारले स्थानीय बासिन्दा तथा सञ्चार सेवाका प्रयोगकर्तालाई राहत मिलेको छ ।
बाढीले विद्युत् प्रसारण तथा वितरण प्रणालीका विभिन्न संरचनामा क्षति पुर्याएको थियो । मिलनचोक–दाना खण्डमा १० वटा पोल र ५०० मिटर तार नष्ट भएका थिए भने दाना–कोवाङ खण्डमा पाँचवटा पोल र २०० मिटर तारसहित आवश्यक उपकरणमा क्षति पुगेको थियो ।
त्यसैगरी, तातोपानी वितरण केन्द्रअन्तर्गतको ११ केभी वितरण लाइनमा समेत क्षति भएको थियो । म्याग्दी र मुस्ताङमा एक–एकवटा पोल भत्किएका थिए भने मुस्ताङमा एक हजार मिटर तार तथा अन्य उपकरण नष्ट भएका थिए ।
प्रसारण लाइनमा आएको समस्यापछि वैकल्पिक व्यवस्थाअन्तर्गत थापाखोला र घलेम्दीखोला जलविद्युत् आयोजनाबाट नौ मेगावाट विद्युत् उत्पादन गरी ३३ केभी लाइनमार्फत आपूर्ति गरिएको चापागाईंले बताउनुभयो ।
यद्यपि, बाढीपहिरोको प्रभावका कारण म्याग्दीका चारवटा जलविद्युत् आयोजना अझै बन्द अवस्थामा छन् । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ११० मेगावाटको नीलगिरि, छ मेगावाटको रेलेखोला र १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना सञ्चालनमा आउन सकेका छैनन् ।
यी चार आयोजनाको कुल जडित क्षमता १७२ मेगावाट रहेको छ । आयोजना बन्द रहँदा ठूलो परिमाणमा विद्युत् उत्पादन प्रभावित भएको छ ।