म्याग्दी । म्याग्दीको दरबाङमा आयोजित आठौँ पश्चिम म्याग्दी कप २०८३ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक पश्चिम म्याग्दी दरबाङ युथ क्लबको ‘ए’ टोलीले जितेको छ । बुधबार सम्पन्न फाइनलमा आयोजककै ‘बी’ टोलीलाई २–० गोलले पराजित गर्दै ‘ए’ टोलीले उपाधि आफ्नो नाममा लेखाएको हो ।
मालिका गाउँपालिका–६, दरबाङमा कात्तिक ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनलमा पहिलो हाफमा ‘बी’ टोलीले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेको थियो । तर दोस्रो हाफमा लय समातेको ‘ए’ टोलीले लगातार दुई गोल गर्दै जित सुनिश्चित गर्यो ।

उपाधिसँगै विजेता ‘ए’ टोलीले नगद एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता ‘बी’ टोलीले ७७ हजार ७७७ रुपैयाँमा चित्त बुझाएको छ । दुवै टोलीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ प्रमुख अतिथि र मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोका विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ किरण थापा उत्कृष्ट डिफेन्डर, साजन किसान उत्कृष्ट गोलरक्षक, बिपुल कार्की सर्वाधिक गोलकर्ता, विश्वास पुन उत्कृष्ट खेलाडी र निराजन खड्का उत्कृष्ट मिडफिल्डर घोषित भएका थिए । म्याग्दी युथ क्लब पोखराले अनुशासित टोलीको उपाधि प्राप्त गर्यो ।
विधागत उत्कृष्ट खेलाडीले जनही तीन हजार रुपैयाँ र अनुशासित टोलीले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उक्त पुरस्कार वडाध्यक्ष रोकाले वितरण गर्नुभएको थियो ।

जिल्लाका २५ टोलीको सहभागिता रहेको प्रतियोगितामा सेमिफाइनलबाट बाहिरिएका दुई टोलीलाई जनही ११ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै, क्वार्टरफाइनल चरणदेखि प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ पुरस्कारस्वरूप एक हजार रुपैयाँ प्रदान गरिएको क्लबका सचिव बिमल शर्माले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनसहित विभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथि श्रेष्ठले जिल्लामा विभिन्न खेल विधाका खेलाडीको क्षमता विकासका लागि प्रशिक्षणलगायत रचनात्मक गतिविधिमा सहयोग भइरहेको बताउनुभयो ।
क्लबका अध्यक्ष नगेन्द्र मल्लले पश्चिम म्याग्दीको फुटबल विरासतलाई संरक्षण र निरन्तरता दिन प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । उहाँका अनुसार क्लबले प्रतियोगिता सञ्चालन गर्नुका साथै खेलाडीलाई विभिन्न खेल गतिविधिमा सहभागी गराउँदै आएको छ ।
स्थानीय खेलाडीको प्रतिभा पहिचान, प्रतिस्पर्धात्मक खेल संस्कृतिको विकास र फुटबलप्रति युवाको आकर्षण बढाउने उद्देश्यले आयोजित प्रतियोगिताले पश्चिम म्याग्दीको खेलकुद क्षेत्रलाई थप चलायमान बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको क्लवले जनाएको छ ।