म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, दिच्याममा कुष्ठरोगको शीघ्र पहिचान, रोकथाम तथा नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीको आयोजना तथा मालिका गाउँपालिकाको समन्वयमा असोज २६ र २७ गते सम्पर्क परीक्षण, सक्रिय खोजपड्ताल तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

समुदायस्तरमै कुष्ठरोगका सम्भावित बिरामीको पहिचान गरी समयमै उपचार सेवाको पहुँचमा पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख विद्या तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्रीन पास्चर्स अस्पतालकी गीता गौतमले प्राविधिक सहजीकरण गरेकी थिइन् ।
कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मी तथा सम्बन्धित टोलीले घरदैलोमा पुगेर स्थानीयवासीलाई कुष्ठरोगका प्रारम्भिक लक्षण, समयमै परीक्षण गराउनुपर्ने आवश्यकता, उपचारको उपलब्धता तथा रोगसम्बन्धी भ्रम र सामाजिक विभेद न्यूनीकरणका विषयमा जानकारी गराएका थिए ।

यस क्रममा कुष्ठरोगको शंका लागेका व्यक्तिको पहिचान, बिरामीका परिवार तथा सम्पर्कमा रहेका व्यक्तिहरूको स्वास्थ्य परीक्षण र आवश्यक परामर्श प्रदान गरिएको थियो । साथै, परिवारका सदस्यहरूलाई कुष्ठरोगबाट बचाउन प्रयोग गरिने SDR औषधिसमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

कुष्ठरोगबारे समाजमा विद्यमान गलत धारणा, डर र विभेद हटाउँदै सम्भावित बिरामीको समयमै पहिचान तथा उपचार सुनिश्चित गर्नु अभियानको मुख्य उद्देश्य रहेको कार्यालयले जनाएको छ । समुदायमै पुगेर सञ्चालन गरिएको अभियानले रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै प्रभावित व्यक्तिलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आगामी दिनमा पनि समुदायस्तरमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै कुष्ठरोगको शीघ्र पहिचान, प्रभावकारी उपचार तथा नियन्त्रणका प्रयासलाई थप सुदृढ बनाउने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।