म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा सातौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि दरबाङमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले गर्नुभएको हो ।
प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा विद्यालयले सहभागिता जनाएका छन् । एथलेटिक्स, भलिबल र कबड्डी विधामा गरी ३० स्वर्ण पदकका लागि विद्यार्थी खेलाडीबीच प्रतिस्पर्धा हुने शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अशोक रिजालले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम हुने विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रका साथै नगद ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ५० हजार र ३० हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष गर्बुजाले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीभित्र रहेको खेल प्रतिभा पहिचान र विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मोतिलाल चपाईं र जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले पनि खेलकुदको महत्वबारे धारणा राख्नुभएको थियो । उहाँहरूले खेलाडीलाई अनुशासन, खेल भावना र निष्पक्ष प्रतिस्पर्धालाई आत्मसात् गर्दै खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो ।
प्रतियोगिताको औपचारिक सुरुवातअघि विद्यार्थी, खेलाडी, शिक्षक, जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागितामा बाजागाजासहित दरबाङ बजारमा र्यालीसमेत निकालिएको थियो । प्रतियोगिताले स्थानीय विद्यालयमा खेलकुद गतिविधि प्रवर्द्धन गर्नुका साथै विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।