म्याग्दी । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले संगठन विस्तार तथा मगर समुदायको कला, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले युवा र संस्कृति संघ गठन गरेको छ । बेनीमा शनिबार आयोजित भेलाले कमल घर्ती मगरको अध्यक्षतामा नेपाल मगर युवा संघ र गंगा पुन मगरको अध्यक्षतामा नेपाल मगर संस्कृति संघ गठन गरेको हो । दुवै समिति १५ सदस्यीय रहेको नेपाल मगर संघ म्याग्दीले जनाएको छ ।

युवा संघको उपाध्यक्षमा शिव पुर्जा मगर, सचिवमा बिनम थजाली, कोषाध्यक्षमा साजन बलम्पाकी मगर र सहसचिवमा सुशील फगामी मगर चयन हुनुभएको छ । त्यसैगरी संस्कृति संघको उपाध्यक्षमा प्रेमबहादुर राना मगर, सचिवमा दिशु गर्बुजा मगर, कोषाध्यक्षमा मिना जुग्जाली मगर र सहसचिवमा पविता पुन मगर चयन हुनुभएको छ ।
आगामी माघे संक्रान्तिमा आयोजना हुने मगर सांस्कृतिक महोत्सवलाई सफल बनाउन विभिन्न विधा र क्षेत्रगत संघ गठनलाई तीव्रता दिइएको संघका अध्यक्ष खम थापा मगरले जानकारी दिनुभयो । गठित संघलाई सक्रिय बनाउँदै थप उपसमितिहरू गठन गर्ने तयारीसमेत भइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य टकसरा रानाले मगर समुदायको मौलिक कला, भाषा, भेषभूषा र परम्पराको संरक्षणका लागि महोत्सवलाई सफल बनाउन सबै पक्षको रचनात्मक सहयोग आवश्यक रहेको बताउनुभयो ।
संघका अध्यक्ष थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णु रोका र नेपाल पुन मगर समाज अन्नपूर्णका अध्यक्ष टकबहादुर पुन मगरलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितिका सहसचिव रमेश फगामी मगरले गर्नुभएको थियो ।