काठमाडौं । यस वर्षको तिहारअन्तर्गत भाइटीका कात्तिक २५ गते बुधबार मनाइने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको २०८३ सालको यमपञ्चकसम्बन्धी विवरणअनुसार भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा निर्धारण गरिएको हो ।
समितिका अनुसार भाइटीकाका दिन टीका लगाउँदा दाजुभाइ पश्चिमतर्फ फर्किनुपर्ने छ भने दिदीबहिनी पूर्व फर्किएर टीका लगाइदिनुपर्ने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको समितिले तिहारका विभिन्न पर्वहरूको मिति र धार्मिक विधिसमेत सार्वजनिक गरेको हो ।
यस वर्षको तिहार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी अर्थात् धनतेरस र यमदीपदानबाट सुरु हुने छ । कात्तिक २१ गते शनिबार काग तिहार मनाइने छ । त्यसैगरी, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते सोमबार गाईपूजा गरिने छ भने कात्तिक २४ गते मंगलबार गोवर्द्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइने समितिले जनाएको छ ।
कात्तिक २४ गते नै नयाँ वर्षका रूपमा नेपाल संवत् ११४७ प्रारम्भ हुने छ । यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका तथा नेवार समुदायको किजापूजा मनाइने छ ।
समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा २०८३ सालका तिहारसँग सम्बन्धित पर्वहरूको विवरण उल्लेख गरिएको छ ।