म्याग्दी । म्याग्दीको चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा जुनियर रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । बिहीबार पुनर्गठित सर्कलको अध्यक्षमा सचिन विश्वकर्मा चयन हुनुभएको हो । सर्कलको उपाध्यक्षमा क्याविना गर्बुजा, सचिवमा रोहिणी पुर्जा, उपसचिवमा अनुष्का गर्बुजा, कोषाध्यक्षमा रोजन गर्बुजा र उपकोषाध्यक्षमा एलोन पुन चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा नवीन पुन, रोशी पुन, फिलिमान परियार, सृष्टि पुन र हसना पुन रहनुभएको छ । नवगठित सर्कलको शिक्षक नायकमा खिमा पुन, सहायक शिक्षक नायकमा खिम छन्त्याल र संरक्षकमा कप्रसाद थापा रहनुभएको नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीको मानवीय सेवाको भावना विद्यार्थीमाझ विकास गर्न, विपद् व्यवस्थापन तथा प्राथमिक उपचारसम्बन्धी सचेतना अभिवृद्धि गर्न र सामाजिक सेवाका गतिविधिमा विद्यार्थीको सहभागिता बढाउन जुनियर रेडक्रस सर्कलले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
नवगठित कार्यसमितिले विद्यालयमा मानवीय सेवा, सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्वका गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य अघि सारेको छ ।