म्याग्दी । यस वर्षको विजया दशमीमा टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार टीका लगाउनुअघि बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गर्नुपर्ने छ भने टीका लगाउँदा र लगाइमाग्ने दुवै व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने छ ।
नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापनासँगै सुरु भएको यस वर्षको दसैँ पर्वअन्तर्गत असोज ३१ गते फूलपाती, कात्तिक १ गते महाअष्टमी, कात्तिक २ गते अष्टमी तिथि र कात्तिक ३ गते महानवमी परेको छ ।
विजयादशमीकै दिन बिहान १० बजेर ५१ मिनेटमा तुलजा भवानीको यात्रा र ११ बजेर ५२ मिनेटमा स्थिरासनको साइत रहेको समितिले जनाएको छ । त्यसैगरी, कात्तिक ८ गते कोजाग्रत व्रत तथा पूर्णिमा व्रत र कात्तिक ९ गते कोजाग्रत पूर्णिमा परेको छ । कोजाग्रत पूर्णिमासँगै १५ दिनसम्म मनाइने दसैँ पर्व समापन हुनेछ ।
दसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरू मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न घर फर्कने गर्छन् । दसैँको समयमा देशभरका शक्तिपीठमा पूजाआजा गर्ने, बालबालिकाले पिङ खेल्ने र चङ्गा उडाउने तथा बजारमा किनमेल गर्ने चहलपहल बढ्ने गर्छ । आपसी भेटघाट, पारिवारिक जमघट र शुभकामना आदानप्रदानले दसैँको रौनक थप बढाउने गर्छ ।