म्याग्दी । दसैँ नजिकिएसँगै गाउँघरका घरआँगन सफा गर्ने, भित्तामा रातो माटो र सेतो कमेरो पोत्ने तथा झ्यालढोकामा रङ लगाउने परम्परा कुनै समय ग्रामीण जीवनको अभिन्न हिस्सा थियो । घटस्थापनादेखि घर लिपपोत गरेर चिटिक्क पार्ने चलनले दसैँको आगमनसँगै गाउँघरमा छुट्टै रौनक देखिन्थ्यो । तर, बदलिँदो जीवनशैली र आधुनिक निर्माण सामग्रीको प्रयोग बढेसँगै म्याग्दीका गाउँघरबाट यो मौलिक परम्परा हराउँदै जान थालेको छ ।
पहिले दसैँ आउनुअघि गाउँका घरहरू लिपपोत गर्न स्थानीयवासीलाई भ्याइनभ्याइ हुन्थ्यो । घरको तल्लो भागमा रातो माटो र माथिल्लो भागमा सेतो कमेरो पोतेर घर सजाइन्थ्यो । आँगन, करेसाबारी र घरवरिपरि सरसफाइ गरिन्थ्यो भने झ्यालढोका र कठबारमा कालो पदार्थ वा रङ लगाएर घरलाई आकर्षक बनाइन्थ्यो । घर लिपपोत गर्ने, लिङ्गे तथा रोटेपिङ हाल्ने र मालश्री धुन तथा पञ्चेबाजाको गुञ्जनसँगै दसैँको उल्लास गाउँभरि फैलिन्थ्यो ।
समय परिवर्तनसँगै दसैँ मनाउने शैली मात्र होइन, घर सजाउने परम्परामा पनि परिवर्तन आएको छ । पहिले वनपाखामा पुगेर रातो माटो र सेतो कमेरो खोज्ने तथा बोकेर ल्याउने गरिन्थ्यो । अम्लिसोको कुचो प्रयोग गरेर भित्तामा माटो पोतिन्थ्यो । झ्यालढोका र कठबारमा लगाउन अङ्गार वा टर्चलाइटको ब्याट्रीमा पाइने कालो पदार्थलाई तोरीको तेलमा मिसाएर प्रयोग गर्ने चलनसमेत थियो । स्थानीय स्रोतसाधनको प्रयोगबाट गरिने यस्तो काममा श्रम र समय बढी लागे पनि यसले गाउँघरको मौलिकता झल्काउँथ्यो ।
अहिले भने बजारमा पाइने चुना, गेरु, प्राइमर र इनामेललगायतका रङ प्रयोग गरेर घर सजाउने क्रम बढेको छ । सहजै सामग्री उपलब्ध हुने र कम समयमा घर सिँगार्न सकिने भएकाले परम्परागत लिपपोतको अभ्यास घट्दै गएको स्थानीयवासी बताउँछन् ।
बेनी नगरपालिका–५, चिप्लेटीकी यामकुमारी खत्रीका अनुसार वनपाखामा पुगेर माटो खन्ने, बोकेर ल्याउने र घर पोत्नेभन्दा बजारबाट चुना तथा गेरु किनेर प्रयोग गर्न सजिलो हुन्छ । बजारमा पाइने सामग्रीले समय र श्रम बचत हुने भएकाले पनि परम्परागत लिपपोतको चलन कम हुँदै गएको उहाँ बताउनुहुन्छ ।
बेनी नगरपालिकाको रत्नेचौर र अवेचौर कुनै समय रातो माटोका लागि परिचित थिए । पुलाडाँडा नजिकै सेतो कमेरो पाइने भएकाले स्थानीयवासीले त्यहीँबाट कमेरो ल्याएर घर पोत्ने गर्थे । रातो माटो पाइने ठाउँ भएकाले नै रत्नेचौर नाम रहन गएको भन्ने स्थानीयवासीको भनाइ छ । तर, अहिले ती ठाउँमा पुगेर घर लिपपोतका लागि माटो खन्ने र बोकेर ल्याउने चलन निकै कम भएको छ ।
ग्रामीण क्षेत्रमा सडकको पहुँच विस्तार हुनु र घर निर्माणको शैली बदलिनुले पनि परम्परागत लिपपोतमा कमी आएको छ । माटोले बनेका घरको स्थानमा इँटा, ढुङ्गा, सिमेन्ट, रड र आरसिसी ढलान प्रयोग गरिएका आधुनिक घर बन्न थालेका छन् । घरको बनावट र सजावटमा आएको परिवर्तनसँगै बजारमा पाइने विभिन्न रङको प्रयोग बढेको छ ।
म्याग्दीका विभिन्न समुदायमा घर पोत्ने शैली र रङको प्रयोगमा समेत विविधता पाइन्छ । कार्की, घर्ती र खड्कालगायत थरका क्षत्री समुदायमा सेतो कमेरो, चुना वा प्राइमर प्रयोग नगरी रातो तथा पहेँलो माटो वा गेरु लगाउने चलन रहेको छ । अन्य समुदायमा रातो माटो र सेतो कमेरो दुवै प्रयोग गर्ने गरिन्छ भने जिल्लाका लेकाली बस्तीमा सेतो कमेरोले मात्रै घर पोत्ने परम्परा पनि छ ।
घर पोत्न आवश्यक माटो खन्ने निश्चित ठाउँलाई स्थानीय भाषामा ‘मटकिलो’ भनिन्छ । कुनै समय दसैँ आउनुअघि मटकिलोमा माटो खन्ने, घरसम्म बोकेर ल्याउने र लिपपोत गर्ने चटारो हुन्थ्यो । मटकिलो र गाउँका गृहिणीबीच परम्परागत रूपमा गहिरो सम्बन्ध थियो । तर, बजारमा सजिलै रङ तथा अन्य सामग्री पाइन थालेपछि मटकिलोमा पुगेर माटो ल्याउने चलन हराउँदै गएको छ ।
दसैँमा घर लिपपोत गर्ने परम्परा केवल घर सजाउने काम मात्र थिएन, यो स्थानीय स्रोतसाधनको उपयोग, सामूहिक श्रम र ग्रामीण जीवनशैलीसँग जोडिएको संस्कृति पनि थियो । आधुनिक सामग्रीको प्रयोगले घर सजाउन सहज बनाए पनि रातो माटो र सेतो कमेरोले घर पोत्ने परम्परा हराउँदै जाँदा गाउँघरको मौलिक पहिचानसमेत क्रमशः ओझेलमा पर्दै गएको छ ।