म्याग्दी । बडादशैंको टीकाको दोस्रो दिन पनि मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीका दिन घरपरिवारमा टीका लगाएपछि आज सर्वसाधारण टाढा रहेका आफन्त तथा ज्येष्ठ सदस्यका घरमा पुगेर टीका ग्रहण गर्ने र आशीर्वाद लिने कार्यमा व्यस्त छन् ।
विजयादशमीका दिन भेटघाट गर्न नपाएका तथा मान्यजन टाढा रहेका व्यक्तिहरूले टीकाको दोस्रो दिनदेखि कोजाग्रत पूर्णिमासम्म आफन्तकहाँ पुगेर टीका र जमरा लगाउने परम्परा नेपाली समाजमा रहिआएको छ । यस अवधिमा परिवारका सदस्य तथा आफन्तबीच भेटघाट, शुभकामना आदानप्रदान र आशीर्वाद ग्रहण गर्ने चलनले पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ ।
नेपालका विभिन्न क्षेत्रमा दशैंको टीका लगाउने परम्परामा केही भिन्नता पाइन्छ । कतिपय स्थानमा विजयादशमीकै दिन टीका लगाउने चलन रहे पनि अधिकांश क्षेत्रमा कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने परम्परा कायम छ ।
नवदुर्गा भवानीको प्रसादका रूपमा ग्रहण गरिने टीका र जमरा कोजाग्रत पूर्णिमासम्म लगाएर मान्यजनबाट आशीर्वाद लिन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका जनाएको छ ।
दशैंलाई पारिवारिक पुनर्मिलन, आपसी सद्भाव, सम्मान र आशीर्वाद साटासाट गर्ने प्रमुख पर्वका रूपमा लिइन्छ । टीकाको दोस्रो दिनदेखि पूर्णिमासम्म चल्ने भेटघाट र आशीर्वाद ग्रहणको परम्पराले दशैंको सांस्कृतिक तथा सामाजिक महत्त्वलाई निरन्तरता दिँदै आएको छ ।