काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिमको सम्भावनाको आधार भएको बताउनुभएको छ । मन्त्रालयले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्र भविष्यमा सुदूरपश्चिमको सम्भावनाको आधार हुने बताउनुभयो।
उहाँले लामो समयदेखि प्रस्तावित रहेको बन्दरगाह तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शिलान्यास गरेर शिलान्यासमै सिमित रहे पनि अहिलेको सरकारले त्यसलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले दैजी छेला औद्योगिक क्षेत्र वर्तमान सरकारको प्राथमिकतामा रहेको पनि बताउनुभयो । उहाँले लामो समयदेखि प्रस्ताव र शिलान्यास गरिएपनि बजेटको व्यवस्थापन नभएको भन्दै आगामी आर्थिक वर्षको बजेटमार्फत यी आयोजनालाई सरकारले समेट्ने बताउनुभयो।
मन्त्री बडूले नेपाल–भारत र चीनको त्रिदेशीय व्यापारिक महत्वसँग जोडिएको नाका कञ्चनपुर भएकोले बन्दरगाहको योजना सम्पन्न भए औद्योगिक क्षेत्रमा मुलुकले फड्को मार्ने बताउनुभयो । मन्त्री बडूले औद्योगिक क्षेत्रको निर्माणलाई कसरी सम्पन्न गर्ने भन्ने बारेमा मन्त्रालय चाँडै टुंगोमा पुग्ने र औद्योगिक क्षेत्रको निर्माण अब द्रुत गतिमा अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बडूले सुख्खा बन्दरगाहको निर्माणका लागि पहिलो चरणमा ७ अर्ब लागत अनुमान समेत गरिएको बताउनुभयो ।
बन्दरगाहको वातावरणीय प्रभाव मूल्याङ्कन र जग्गा भोगाधिकारको विषय टुंगो लाग्ने चरणमा रहेको अवस्था रहेको पनि उहाँले बताउनुभयो । मन्त्री बडूले भन्नुभयो, ‘दोधारा चाँदनी सुख्खा बन्दरगाह हामी समयमै सकिने गरेर काम शुरु गर्छौं, सुख्खा बन्दरगाहको निर्माणका लागि पहिलो चरणमा ७ अर्ब लागत अनुमान छ, त्यसमै हामी यो काम शुरु गर्नेछौँ । अर्को कुरा दैजी औद्योगिक क्षेत्र भविष्यमा सुदूरपश्चिमको सम्भावनाको आधार हो पछिल्लो सरकारले शिलान्यास गरेको थियो, हामीले यसलाई प्राथमिकतामा राखेका छौँ ।
यसलाई अघि बढाउनेछौँ । हामी यसको मोडालिटीको बारमो छलफल गरिरहेका छौँ । यो क्षेत्रले सुदूरपश्चिमको क्षेत्रमा धेरै ठूलो फड्को मार्न सक्छ, यो त्रिदेशीय महत्वको विषय छ ।’ मन्त्री बडूले यो क्षेत्रमा हुने औद्योगिक विकास र वृद्धिले २२ हजार युवाले रोजगार पाउने अनुमान रहेको बताउनुभयो । दोधारा चादँनीको सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्रको मन्त्री बडूसँगै पूर्वमन्त्री रमेश लेखक, नारायाणप्रकाश साउद, उद्योग सचिव गणेशप्रसाद पाण्डेयले स्थलगत अनुगमन गर्नुभएको थियो । रातोपाटीबाट
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ ११:४२