काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको निर्वाचनमा गगनकुमार थापा विजयी भएका छन् । उहाँले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ठूलो मतान्तरले पछि पार्दै पार्टीको सभापति पदमा निर्वाचित हुनुभयो हो ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत मात्रै प्राप्त गरेका छन् । दुवै उम्मेदवारबीचको मतान्तर ६ हजार २०९ रहेको छ । निर्वाचनमा कुल ७ हजार ३९ मत खसेको थियो भने तीमध्ये ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
सभापति पदमा थापालाई निर्विरोध निर्वाचित गराउने प्रयाससमेत भएको थियो । तर, खड्गीले उम्मेदवारी कायम राखेपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो । यसअघि सभापति पदका अर्का आकांक्षी किशोरसिंह राठोरले थापालाई निर्विरोध निर्वाचित गराउने प्रयासअन्तर्गत आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
सभापति पदको परिणाम सार्वजनिक भए पनि महाधिवेशनअन्तर्गत अन्य पदाधिकारीको मतगणना भने सुरु हुन बाँकी रहेको जनाइएको छ । अब अन्य पदमा आउने परिणामले कांग्रेसको नयाँ केन्द्रीय नेतृत्वको संरचना स्पष्ट पार्ने छ ।
निर्वाचन परिणामसँगै नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा, संगठनात्मक प्राथमिकता र नयाँ नेतृत्वले पार्टीभित्रको समन्वयलाई कसरी अघि बढाउँछ भन्ने विषयमा चासो बढेको छ ।