म्याग्दी । नेपालीहरूको महान् पर्व बडादशैंलाई लक्षित गरी यसवर्ष मुस्ताङबाट १५ हजारभन्दा बढी भेडा–च्याङ्ग्रा देशका विभिन्न बजारमा निकासी भएका छन् । दसैँमा मासुको माग बढेसँगै हिमाली जिल्लासहित चीनको तिब्बतबाट समेत भेडा–च्याङ्ग्रा नेपाली बजारमा भित्रिएको हो ।
यसवर्ष स्वास्थ्य परीक्षण तथा आवश्यक प्रक्रिया पूरा गरी १३ हजार ८१७ गोटा भेडा–च्याङ्ग्रा निकासी भएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ । तीमध्ये ११ हजार ७०२ च्याङ्ग्रा र दुई हजार ११५ भेडा रहेका छन् । कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार मुस्ताङबाट मात्रै नौ हजार १६८ गोटा भेडा–च्याङ्ग्रा निकासी भएका छन् ।

त्यस्तै, डोल्पाबाट तीन हजार ५५१, कोरला नाकाबाट ४३८, मुगुबाट ३६० र जुम्लाबाट ३०० गोटा भेडा–च्याङ्ग्रा मुस्ताङ हुँदै बेनी–जोमसोम सडकमार्फत विभिन्न बजारमा पठाइएको छ । यसबाहेक किसान तथा व्यापारीले प्रत्यक्ष रूपमा करिब दुई हजार गोटा बजारमा पठाएका छन् । गतवर्ष दशैंमा मुस्ताङबाट करिब १८ हजार भेडा–च्याङ्ग्रा निकासी भएका थिए ।

दशैं नजिकिएसँगै भेडा–च्याङ्ग्राको माग र मूल्य दुवै बढेको छ । यसवर्ष बजारमा च्याङ्ग्राको मूल्य प्रतिगोटा ४० हजार रुपैयाँभन्दा माथि पुगेको छ भने भेडाको मूल्य ३० हजार रुपैयाँभन्दा बढी रहेको व्यापारीहरूले बताएका छन् । भेडाको तुलनामा च्याङ्ग्राको माग बढी रहेको उनीहरूको भनाइ छ ।

भेडा–च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी उपभोगयोग्य प्रमाणित भएपछि मात्रै कार्यालयले आवश्यक प्रमाणपत्र जारी गर्ने गरेको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला तथा तिब्बतका उच्च हिमाली क्षेत्रमा पालिएका भेडा–च्याङ्ग्रा दशैंका बेला देशका विभिन्न सहरमा बिक्रीका लागि पुर्याइन्छन् । यससँगै म्याग्दीको बेनीबजारलगायत क्षेत्रमा पनि भेडा–च्याङ्ग्रा, खसीबोका तथा बाख्राको खरिद–बिक्री बढेको छ ।
हिमाली क्षेत्रमा पाइने प्राकृतिक घाँस तथा विभिन्न जडीबुटी खाएर हुर्कने च्याङ्ग्राको मासु स्वादिष्ट मानिन्छ । चिसो हावापानी र प्राकृतिक वातावरणमा हुर्कने च्याङ्ग्राको मासु स्वादिष्ट हुने भएकाले यसको माग बढ्ने गरेको छ ।