काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले शनिबारको दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सुन्धारा क्षेत्रमा आएको बेला आफूलाई थाहै नदिएको गुनासो गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिका बैठकमा बोल्दै उहाँले भन्नुभयो, 'मेयर साब हिजो सुन्धारा पुग्नु भएको रहेछ धेरै साथीहरुले तिमी कहाँ थियौ भन्नु भयो मैलै जवाफ दिन सकिनँ मंगलबार र बिहीबार म स्थानीयसंगै थिएँ, धरहरा चाही बन्ने सुन्धारा डम्पिङ साइड जस्तै भइरहेको छ भनेर त्यहाँको मान्छेको कुराहरु बुझिरहेको थिएँ।
यदि मेयरसाब त्यहाँ आउने थाहा भएको भए फुलमालाले स्वागत गर्ने थिएँ, हाम्रो संकटा बजारमा थुप्रै फूलमाला अहिले पनि बेचिरहेको होला।’धरहरा बन्ने तर सुन्धारा डम्पिङ साइट हुनेजस्तो स्थिति नआओस् भनेर आफू सक्रिय रहेको भन्दै उहाँले मेयर सोही क्षेत्रमा आउँदा आफूले थाहा नपाएको भन्दै गुनासो गर्नुभयो।
उहाँले भन्नुभयो, ‘पशुपति दर्शन गर्न जाँदा, संकटा दर्शन गर्न जाँदा सल्लाह गर्नुपर्छ भन्ने होइन तर महत्वपूर्ण विषयमा जाँदा समन्वय गर्नुपर्छ।’मेयर साहले शनिबारको दिन भएकाले दुःख नदिने भनेर खबर नगरेको प्रष्टीकरण दिनुभयो । उहाँले अबदेखि यस्ता ठाउँमा जाँदा खबर गर्ने प्रतिबद्धता जनाउनुभयो । nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९ ११:५२